सन् २०२० सम्म कुष्ठरोग निवारण गरिने लक्ष्य

कुष्ठरोग कागजमा मात्र निवारण
February 10, 2017
Vacancy Announcement for TB Leprosy Supervisor
March 18, 2017

सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारको छ ।

‘समयमानै कुष्ठरोगको उपचार गरौा, अपाङ्गता हुनबाट बचौंँ’ भन्ने मूलनाराका साथ भोलि यो दिवस देशभरि मनाउने तयारी गरेको छ ।

अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा मात्र प्रत्येक वर्ष तीन हजार मानिसमा नयाँ रोग देखिने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । विश्वभरी एक लाख ७५ हजार कुष्ठरोगी बिरामीको उपचार भइरहेको अवस्थामा नेपालमा मात्र दुई हजार पाँचसय जनाको उपचार भइरहेको जनाइएको छ । संसारभरी कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिदैन । नेपालमा तीन हजार एकसय र विश्वभरिबाट दुईलाख १० हजार व्यक्ति बहुऔषधि उपचारले कुष्ठरोगबाट मुक्त भएको तथ्याङ्ले देखाएको छ ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक एवम् कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेकाअनुसार दक्षिण एसियाली देशमा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ । छिमेकीमुलुक भारतमा मात्र एकलाख ३७ हजार कुष्ठरोगीका बिरामी रहेको उनको भनाइ छ । भौगोलिक रुपले नेपालको तराई क्षेत्रमा यो रोगको प्रकोप अत्यधिक देखिएको उनले बताए । उनका अनुसार बाँके र बर्दिया जिल्लामा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ ।

‘खोपमुक्त गाउँ जस्तै कुष्ठरोग मुक्त’ गाउँ बनाउने अभियान अन्तर्गत सप्तरी जिल्लाबाट कार्यक्रम सुरु गरिने उनले बताए। कुष्ठरोग निवारण हुन बाँकी रहेका अछाम, मुगु, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, मोरङ र झापा गरी १८ जिल्लालाई सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा पाण्डेले बताए।

उनकाअनुसार ५० वटा जिल्ला कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । डोल्पा, मुस्ताङ, मनाङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुर गरी सातवटा जिल्ला कुष्ठरोग निवारण क्षेत्र रहेको पनि उनले बताए।

कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने पुरानै रोग भएको ‘द लेप्रोसी मिसन’ नेपालद्वारा सञ्चालित आनन्दवन अस्पतालका मेडिकल निर्देशक डा इन्द्रबहादुर नापितले बताए। यो अस्पताल कुष्ठरोगीको सेवा गर्ने नेपालकै एक मात्र अस्पताल भएको उनले बताए।

उक्त अस्पतालले सन् १९५७ देखि कुष्ठरोगका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । उनकाअनुसार कुष्ठरोगको किटाणुसँग लड्नसक्ने शक्ति मानिसमा ९९ प्रतिशत रहने गरेको अनुसन्धानबाट देखिएको छ । एकसय जना मानिसको शरीरमा कुष्ठरोगको किटाणु प्रवेश गरेमा एक जनामा मात्र यो रोग लाग्ने गरेको उनले बताए  नेपालमा पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार कुष्ठरोगीको सङ्ख्यामा वृद्धि भइरहेको समेत प्रमुख पाण्डेले बताए ।

अस्पतालका कुष्ठरोग तालिम संयोजक गोपाल पोखरेलका अनुसार मानवजातिमा मात्र यो रोग लाग्ने गरेको छ । कुष्ठरोग जुनसुकै उमेरका मानिसमा लाग्ने गरिए पनि विशेष गरी १०–१४ र ३५–४४ वर्ष उमेरका मानिसमा यो रोगको प्रभाव बढी देखिने गरेको उनले बताए । यो रोग विशेष गरी मङ्गोलियन अनुहार भएकालाई बढी र आर्यन अनुहार भएकालाई कम देखिने गरेको बताइएको छ ।

कुष्ठरोग रोकथाम र जनचेतना फैलाउने अभिप्रायले दोलखा, बुटवल र चन्द्रनिगाहापुरमा महिनाको एकपटक शिविर सञ्चालन गर्ने गरेको उनले बताए । मानिसको खुट्टा कमजोर हुँदै गएमा, हातखुट्टा पोल्ने र निदाएजस्तो भएमा, छालामा रातो वा फुस्रो रङ्गको दाग देखा परेमा, आँखी भौँं झरेमा वा पातलो भएमा, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो भएमा, लगातार हातखुट्टा झमझम गरेमा, नाक थेप्चो भएर गएको भेटिएमा कुष्ठरोगको चिन्ह् र लक्षण हुने गरेको तालिम संयोजक पोखरेलले बताए।

यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड्प्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधिको सेवन गर्नुपर्ने उनले बताए । यसैगरी कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले छ महिनासम्म रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्ने जनाइएको छ । यो औषधि निःशुल्क रुपमा पाइन्छ ।

उनका अनुसार कुष्ठरोग लागेका कारण वैवाहिक, रोजगारी, व्यक्तिगत, सामाजिक, धार्मिकलगायतका कार्यमा कुष्ठरोगीलाई समस्या आउने गरेको छ । कुष्ठरोग लागेका परिवारका सदस्यलाई खजुरीको नेपाल प्राइभेट लिमिटेडले वार्षिक रुपमा २० जनालाई रोजगारीको व्यवस्था गरिएको उनले बताए। कुष्ठरोग माइको ब्याक्टेरियम लेप्रेका कारण हुने गरेको नर्वेका डा ग्ल्यानेरिक एन्रीक ह्यान्सनले सन् १८७३ मा पत्ता लगाएको थियो । यसैले यो रोगलाई ‘ह्यान्सन डिजिज’ नामले पनि चिनिने गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *